
नेपाल स्काउटको जग्गामा कांग्रेस नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले निर्माण गरेका संरचनामा काठमाडौं महानगरपालिकाले डाेजर चलाएकाे छ । महानगरकाे लैनचौरस्थित नेपाल स्काउटको जग्गामा खड्काले निर्माण गरेका संरचना भत्काउन महानगर प्रहरी टोली डोजरसहित पुगेको हाे ।
महानगरले लैनचौरमा स्काउटको नाममा रहेको जग्गामा निर्माण गरिएका भवन तथा संरचना भत्काएको हो । यसअघि कांग्रेस नेता खड्काले नेपाल स्काउटको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका भएपनि लामो समयदेखि भाडा तिरेका थिएनन् । त्यसपछि नेपाल स्काउटले कात्तिक २० गते सूचना जारी गर्दै बक्यौता भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो ।
आज उक्त म्याद सकिएपछि स्काउटको आग्रहमा काठमाडौं महानगरले बल प्रयोग गर्दै संरचना हटाएको बताइएकाे छ । त्यस्तै नेपाल स्काउटले आफ्नो जग्गामा निर्माण गरिएका सम्पूर्ण भवन र सामग्री जफत गर्ने निर्णय गरेको छ भने बाँकी भाडा असुल नभए पूर्वमन्त्री खड्काको व्यक्तिगत सम्पत्तिबाटै उठाउने चेतावनी समेत दिएको छ ।


