
धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिकाले तीन दिन स्थानीय बिदा दिने भएको छ । पालिकाले कात्तिक २८, ३० र मङ्सिर १ गते स्थानीय बिदा दिने भएको हो ।
कात्तिक २७ गते बसेको कार्यपालिकाको बैठकले कात्तिक २८ गते २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डमा शहादत प्राप्त गर्ने शहीदको सम्मानमा बिदा दिने भएको हो । त्यसैगरी कात्तिक ३० र मङ्सिर १ गते खाल्सा क्षेत्रको मुख्य पर्व वडाङ्मीको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
यसअघि २०३६ सालको कात्तिक २२ देखि २९ गते भएको हत्याकाण्डमा १६ जना स्थानीयले सहादत प्राप्त गरेका थिए । उनीहरूको सम्झनामा पालिकाले प्रत्येक वर्ष कात्तिक २२ देखि २९ गतेसम्म शहीद सप्ताह मनाउने गरेको छ ।
त्यसैगरी वडाङ्मी पर्व यस क्षेत्रका राईजातिको मुख्य पर्व हो । कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मङ्गलबार गाउँपालिका–३ को साकेन्वाथानमा जम्मा भएर पूजा गरेपछि शुरु हुने यो पर्व एक हप्तासम्म मनाउने गरिन्छ ।


