
सिंहदरबारस्थित गृह मन्त्रालयमा दिउँसो ३ बजे बस्ने गरि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएकाे छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचन र हालै घोषणा गरिएको दुर्गा प्रसाईँको आन्दोलनलगायतका विषयमा शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् ।
आज दिउँसाे बस्ने बैठकमा देशको समग्र सुरक्षा परिस्थितिको समीक्षा गरिने बताइएकाे छ । गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेले जानकारी गराएअनुसार, बैठक फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने रणनीति तय गर्नमा केन्द्रित हुनेछ भने दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलनका क्रममा उत्पन्न हुन सक्ने शान्ति सुरक्षाका चुनौतीहरूको विश्लेषण गरी आवश्यक पूर्वतयारी र व्यवस्थापनका उपायहरूमाथि छलफल गरिने बताइएकाे छ ।
आजकाे बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखलगायतका उच्चपदस्थ सुरक्षा अधिकारीहरूको सहभागिता रहनेछ ।


