
आजदेखि तीन दिनसम्म पशुपति क्षेत्र आसपास मासु–मदिरा बेच्न प्रतिबन्ध लगाइएको छ । बालाचतुर्दशी (शतविजारोपण) पर्वकाअवसरमा पशुपति क्षेत्र आसपास मासु–मदिरा बेच्न प्रतिबन्ध लगाइएको हाे ।
आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न निषेध गरेको स्थानीय प्रशासनले जनाएकाे छ । पर्सि मंरिस ३ गते परेको बालाचतुर्दशी (शतविजारोपण) पर्वकाअवसरमा यस्तो निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिएका छन् ।
सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्ला कायम गरेर मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख गरिएकाे छ ।
स्थानीय प्रशासनकाे सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्वतर्फ- तिलगङ्गा र गुहेश्वरीतर्फको क्षेत्र, पश्चिमतर्फ- गौशाला, मित्रपार्क र चक्रपथ सडक, उत्तरतर्फ- मित्रपार्क, उमाकुण्ड, गौरीघाट, गुहेश्वरी सडक र दक्षिणतर्फ- गौशाला, तिलगङ्गा र चक्रपथ सडककाे चार किल्लामा उक्त गतिविधीमा पूर्ण रूपमा रोक लगाइएको हाे ।


