
आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि सरकारले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । हिँजाे गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेकाे हाे ।
प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारले व्यापक तयारी गरेको छ भने निर्वाचन सुरक्षामा कुल ३ लाख १४ हजार सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ । जसका लागि नेपाली सेनाका करिब ७९ हजार, नेपाल प्रहरीका करिब ७२ हजार, सशस्त्र प्रहरी बलका ३३ हजार र म्यादी प्रहरी १ लाख ३० हजार जनशक्ति परिचालन गरिनेछ ।
गृह मन्त्रालयका अनुसार निर्वाचन आयोगबाट मतदाता नामावली, मतदानस्थल र मतदान केन्द्रको अन्तिम टुंगो लागेपछि सुरक्षाकर्मीको संख्यामा केही सामान्य हेरफेर हुन सक्ने भएपनि हाललाई सवा तीन लाखको हाराहारीमा सुरक्षाकर्मी खटाउने गरी ‘एकीकृत सुरक्षा योजना-२०८२’ स्वीकृत भएको जनाइएको छ ।
गृह मन्त्रालयमा बसेकाे सुरक्षा समिति बैठकले सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।


