
सिराहामा झण्डै १ हजार ५ किलाे अवैध लागू औषध गाँजा सहित २ जना पक्राउ परेका छन् । प्रहरीले लागू औषध गाँजा सहित सङ्खुवासभा धर्मदेवी नगरपालिका-९, छिपिधारा बस्ने २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा छथर जोरपाटी गाउँपालिका-२, बस्ने २२ वर्षीय खेम राना मगरलाई पक्राउ गरेकाे हाे ।
प्रहरीले उनीहरूलाई १ हजार ४ किलो ४ सय ५० ग्राम गाँजा सहित पक्राउ गरेको थियाे । उनीहरूलाई सिराहको लहान नगरपालिका-१ ट्राफिक चोकबाट इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले शनिवार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मिर्चैयाबाट रूपनीतर्फ जाँदै गरेको ना.५ ख ३२०९ नम्बरको ट्रकलाई चेक जाँच गर्ने क्रममा चालक बस्ने क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला परेको बताइएकाे छ । हाल उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


