
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा मोहम्मद सेफलाई पक्राउ गरेको हाे ।
अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–१५, डल्लु बस्ने मोहम्मद सेफलाई प्रहरीले पक्राउ गरेको हाे । बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरेकाे जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईले जनाएका छन् ।
प्रहरीका अनुसार कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थानसहित सेफलाई नियन्त्रणमा लिइएको जनाइएको छ । सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा १९ करोड ८१ लाख ४९ हजार ५ सय ८१ भन्दा बढी बराबरको अभौतिक कारोबार भएको पाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले सेफलाई अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।


