
संघीय राजधानी काठमाडौँकाे सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्ने उद्देश्यले सडक ‘सडक मर्मत एम्बुलेन्स’ र मोबाइल एप सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय काठमाडौँले उक्त सेवा सञ्चालनमा ल्याएको हाे ।
नेपालमै पहिलो पटक सुरु गरिएको यो सेवाले खाल्डाखुल्डी परेकाे सडकहरू तत्काल मर्मत गर्न सहयाेग पुग्ने बताइएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हिँजाे बिहीबार औपचारिक रूपमा सडक एम्बुलेन्सको शुभारम्भ गरेका थिए ।
सडक एम्बुलेन्सको शुभारम्भ कार्यक्रममा मन्त्री घिसिङले यो सेवा नमुना प्रकृतिको भएको बताउँदै आगामी दिनमा देशका अन्य मुख्य शहरमा पनि विस्तार गरिने जानकारी दिएका छन् । तत्काल सडकमा खाल्डो देखिएमा सर्वसाधारणले मोबाइल एपमार्फत तत्काल फोटो खिचेर अपलोड गर्न सक्नेछन् भने मर्मत पूरा भएपछि त्यसको अद्यावधिक विवरण पनि एपमै हेर्न सकिने व्यवस्था गरिएको छ ।
यो नयाँ सेवाले काठमाडौँका मुख्य सडकमा हुने सवारी जाम र दुर्घटनाको जोखिम घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै मन्त्री घिसिङले विकसित देशहरूमा जस्तै अत्याधुनिक प्रविधि प्रयोग गरेर सडक मर्मतलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन लागिएकाे बताए ।


