
काभ्रेपलाञ्चाेक जिल्लाकाे पनौती नगरपालिकामा सञ्चालित पशुधन बीमा कार्यक्रमबाट ४ हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गत वर्षबाट सुरू भएको उक्त बीमा कार्यक्रमले नगरका १२ वटै वडाका किसानलाई समेटेको छ ।
बीमा कार्यक्रममार्फत पनाैती नगरभित्रका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर, सुँगुर, कुखुरा तथा हाँसजस्ता पशुपन्छीको बीमा गरिएको छ । नगर पशुपन्छी शाखाका अनुसार हालसम्म सबै वडाबाट ४ हजार ४८ किसान कार्यक्रममा सहभागी भएकाे बताइएकाे छ ।
उक्त कार्यक्रमका लागि किसानले व्यक्तिगत रुपमा पशुको बिमा गर्दा १ हजार ४ सयदेखि १ हजार ५ सयसम्म खर्च हुने गरेको छ भने नगरपालिकाका अनुसार नगर क्षेत्रमा करिब ३० हजार बाख्रा, १० हजार गाई, ६ हजार भैँसी, ५०० बङ्गुर तथा झण्डै एक लाख पन्छी रहेका छन् । नगरले हालसम्म ५ हजार २ सय ८१ गाई, २ हजार २ सय ३१ भैँसी, ५ हजार ७ सय ८० बाख्रा, २४ हजार पन्छी तथा १८ वटा बङ्गुरको बिमा गरेको छ ।
त्यसैगरि पालिकाकाे अनुसार अहिलेसम्म २०० पशुको दाबी भुक्तानी भइसकेको छ । नगरले यसअघि ‘भैँसी संरक्षण–संवर्द्धन अभियान’अन्तर्गत प्रतिभैँसी ५ हजार ‘‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रम सञ्चालन गरेको थियो भने अहिले नगरमा भैँसीको सङ्ख्या तेब्बर पुगेको छ ।


