
एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटकाे फाइनल खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । आज बिहान साढे १० बजे संयुक्त अरब इमिरेट्स (यूएई) काे अजमानस्थित करवान मैदानमा हुने खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
आयोजक यूएईसँग नेपालले एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछ । यसअघि नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे थियाे ।
प्रतियोगिताको फाइनलमा पुगेका दुबै टोली एसिया कप खेल्नका लागि छनोट भइसकेका छन् । दुवै टोली आजको खेल जित्दै उपाधि उचाल्ने लक्ष्यसाथ मैदान उत्रिने तयारी गरेका छन् ।
त्यस्तै सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा छनाैट हुनेछ । तेस्रो स्थानका लागि आजै मलेसिया र ओमान खेल्नेछन् ।
प्रतियोगितामा १४ टोलीको सहभागिता रहेका थिए भने यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।


