
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाकाे अवधिमा ५ खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण नेपाल भित्रिएकाे हाे ।
यसअघि अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले वृद्धि भएर ४ खर्ब ८ अर्ब ७७ करोड रहेको थियो । चालु आवको पहिलो महिना साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड बराबर पुगेको थियो ।
त्यसैगरि भदौ महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ५२ अर्ब ८ करोड पुगेको थियो भने चालु आवको पहिलो त्रैमासमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा चालु खाता १ खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोडले बचत भएकाे थियो ।
चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भएर ७२ अर्ब ७८ करोड कायम भएको छ भने सो अवधिमा वस्तु आयात १९.८ प्रतिशतले बृद्धि भई ४ खर्ब ६८ अर्ब ८ करोड कायम भएको थियाे । समीक्षा अवधिमा कूूल वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको विवरणमा उल्लेख गरिएकाे छ ।


