
आज नेपाल लगायत विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, श्रम शोषण, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउने उद्देश्यले यो दिवसको मनउँन लागिएकाे हो ।
सन् १९४९ को २ डिसेम्बरमा संयुक्त राष्ट्रसंघले मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा सङ्कल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर ५ करोड मानिस आधुनिक दासत्वको जोखिममा रहेकाे राष्ट्रसंघले जनाएकाे छ भने उनिहरू मध्ये अधिकांश महिला र बालबालिका बलपूर्वक श्रम गर्न बाध्य पारिएका छन् ।
सामाजिक बहिष्कार, जातीय विभेद, गरीबी तथा असमानतामा आधारित व्यवहारका कारण केही समुदायहरू अझै पनि शोषणको गम्भीर जोखिममा रहेका छन् । प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई अहिले पनि घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पाइन्छ ।
दासत्व र आधुनिक शोषण अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदायबीच सहकार्य आवश्यक रहेको भन्दै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षामा अन्तरराष्ट्रिय श्रम सङ्गठनले जोड दिएको छ ।


