
वैदेशिक रोजगारीकाे प्रलाेभनमा पारि युके पठाइदिन्छु भन्दै कराेडाैँ ठगि गर्ने २ जना पक्राउ परेका छन् । प्रहरीले आकर्षक तलबमा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको हाे ।
प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-४, बस्ने काठमाडौँ महानगरपालिका-२७ घर भएका ५१ वर्षीय मनोज कुमार सिंह भन्ने अनुप कुमार सिंह र भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखा मेलुङ गाउँपालिका-७, घर भएका ५१ वर्षीय नर बहादुर श्रेष्ठ भन्ने लड्डु बहादुर श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।
सिंह र श्रेष्ठले युके पठाइदिन्छु भन्दै ४८ जना पीडितहरूबाट ४ करोड ३९ लाख ५१ हजार ५ सय ५८ रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेकाे बताइएकाे छ ।
पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा मेचीनगर नगरपालिका-१० धुलाबारीबाट पक्राउ गरेको थियाे । प्रहरीका अनुसार पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।


