
वि.सं.२०५२ मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको सम्झनामा आज मंसिर २९ गते काठमाडौं महानगरपालिकाले स्थापना दिवस मनाउँदैछ । महानगरकाे स्थापना दिवसको अवसरमा आज महानगरको केन्द्रीय कार्यालयसहित ३२ वटै वडा कार्यालयमा सार्वजनिक विदा दिइएकाे छ ।
महानगर दिवसको अवसरमा आज महानगरकाे सबै वडा कार्यालयहरू बन्द हुने भएको छ । त्यस्तै महानगरले बिहान ९ बजे सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगर दिवस मनाउने तयारी गरेकाे छ ।
महानगर दिवसकाे अवसमा हिजाे आइतबार राष्ट्रिय सभा गृहमा आयोजित एक समारोहमा महानगरकाे उपप्रमुख सुनिता डङ्गोललगायतले बाजागुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरेकाे थियाे भने २ सय ३५ जना परम्परागत बाजा गुरुहरूलाई सम्मान गरिएकाे थियाे ।
आजकाे कार्यक्रममा १० जना स्रष्टालाई सम्मान गर्नुका साथै विभिन्न जातजातिको साँस्कृतिक प्रस्तुति रहने महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेले जनाएका छन् ।


