
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ परेका छन् । व्यक्तिकाे विवरण हेरफेर गरेर राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा विभागका कर्मचारीसहित दुई जना पक्राउ परेका हुन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको बताइएकाे छ । पञ्जीकरण विभागका कर्मचारी २८ वर्षीय सुनित रेग्मीसहित गोरखा नगरपालिका–१० घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय आशिष बाबु कुमाल पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गलत मनसाय राखी उनीहरुले विवरण हेरफेर गर्दै एप्रुभ गरेको बताइएको छ । पञ्जीकरण विभागको युजर आईडी र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको दफा ४१ को कसुर गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ परेकाहरुविरुद्ध पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएकाे बताइएकाे छ ।


