
मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना मंगलबारबाट शुरु हुँदैछ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना शुरु गर्न थालिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २५० जना प्राविधिक कर्मचारी देशभर खटाएर साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने योजनाका साथ बाघ गणना शुरु गर्न लागिएकाे हाे । विभागका महानिर्देशक बुद्धिसागर पौडेलका अनुसार १ हजार १ सयवटा अत्याधुनिक क्यामेराको प्रयोग गरि बाघको फोटो संकलन गरेर विश्लेषण गरी बाघकाे गणना गरिने बताइएकाे छ ।
बाघकाे गणनामा जनशक्ति परिचालन, मेमोरी कार्ड, टेन्ट, सिल्पिङ ब्यागलगायत लजिस्टिक सामानका लागि करिब तीन करोड खर्च लाग्ने छ भने त्यसका लागि चाहिने क्यमारा यसअघिकै प्रयोग गर्न लागिएको छ ।
सन् २००९ देखि नेपालले स्वचालित क्यामेरा ट्रयापबाट प्रणालीबद्ध रूपमा बाघ गणना गर्न थालिएकाे हाे । उकत गणनाअनुसार नेपालमा एक सय २१ वटा बाघ रहेका थिए भने त्यसअघि बाघका खुट्टाका छाप तथा पदमार्गको अनुमानका आधारमा गणना गरिन्थ्यो र त्यो पनि राष्ट्रियस्तरमा नभई निकुञ्जमा सीमित रहने गर्दथ्याे ।
सन् २००९ देखि हरेक चार वर्षमा बाघको गणना हुन थालेकाे र बाघ संरक्षण कार्ययोजनामा उल्लेख भएअनुसार सन् २०१३, २०१८ र २०२२ मा गणना सम्पन्न भइसकेको छ । अहिले गणना गर्न थालिएकाे सर्वेक्षण सन् २०२६ का लागि हो ।


