
केहि दिनदेखि जारि भारतको राजधानी दिल्लीमा हावाको गुणस्तर आज पनि अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकाे छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)का अनुसार दिल्लीका विभिन्न क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ४०० नाघेको हाे ।
आज बिहान ८ बजे वजीरपुर र मुन्डकामा एक्युआई ४२६ मापन गरिएको थियाे जुन अत्यन्तै जोखिमपूर्ण अर्थात खतरनाक मानिन्छ । त्यस्तै अशोक विहारमा ४१०, आनन्द विहारमा ४०६, बवानामा ४०३ र आईटीओ क्षेत्रमा ४०२ रहेको छ ।
अन्यत्र पनि वायु गुणस्तर निकै खराब अवस्थामा रहेकाे बताइएकाे छ । नरेला क्षेत्रमा ३८८, चाँदनी चौकमा ३८०, बुराडीमा ३७६, रोहिणीमा ३५६, शादिपुरमा ३५५ तथा नजफगढमा ३४८ मापन गरिएको सीपीसीबीले जनाएकाे छ ।
वायु गुणस्तर ४०१ देखि ५०० सम्मको एक्युआईलाई ‘गम्भीर’ र ३०१ देखि ४०० सम्मकोलाई ‘धेरै खराब’ श्रेणीमा राखिन्छ । गत शनिबार दिल्ली-एनसीआर क्षेत्रमा वायु गुणस्तर गम्भीर अवस्थामा पुगेपछि ग्र्याप–४ (ग्रेडेड रिस्पोन्स एक्शन प्लान) लागू गरिएको थियो । ग्र्याप-४ अन्तर्गत निर्माण कार्यमा कडाइ, सवारी साधन नियन्त्रण तथा अन्य आपतकालीन उपायहरू लागू गरिन्छ ।


