
जेनजी आन्दाेलनकाे बलमा बनेकाे शुसिला कार्की नेतृत्वकाे अन्तरिम सरकारकाे कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ‘जेनजी’ समूहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । सरकारले वा पुस्ताको भावना र आन्दोलनको मर्मलाई आत्मसात् गर्न नसकेको भन्दै मिराज ढुंगाना नेतृत्वको समूह १० बुँदे मागसहित सडकमा ओर्लिन लागेको हो ।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने बताइएको छ । हिजाे एक पत्रकार सम्मेलनमार्फतआज बिहान ११ बजे माइतीघर मण्डलामा ‘शान्तिपूर्ण आन्दोलन’ गर्ने घोषणा गरिएको हाे ।
ढुंगाना नेतृत्वको समूहले अहिलेको राजनीतिक निकासका लागि विद्यमान सरकारको विकल्पमा सर्वपक्षीय सरकार गठन हुनुपर्ने मुख्य माग अघि सारेको छ । उनिहरुले सार्वजनिक गरेको १० बुँदे मागपत्रमा देशको शासकीय स्वरूपमै परिवर्तनको खाँचो औंल्याइएको छ भने राज्यपुनर्संरचना, राजनीतिक स्थिरता र सुशासनका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभामार्फत संविधान पुनर्लेखन गर्नुपर्ने माग राखेका छन् ।
उनिहरूले आन्दोलनका क्रममा पक्राउ परेका जेनजी युवाहरूमाथि लगाइएका झुटा मुद्दा खारेज र उनिहरूकाे तत्काल रिहाइ गर्न माग गर्दै दमनमा संलग्नमाथि कारबाही गर्न सरकारलाई अल्टिमेटम दिइएको छ । त्यस्तै शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन, न्यायालयको फैसलाको प्रत्यक्ष प्रसारण, विदेशमा रहेका नेपालीलाई मताधिकार र ‘एकपटकको नेपाली, सधैंको नेपाली’ नीति कार्यान्वयन लगायतको माग अघि सारेकाे छ ।


