
काठमाडौं महानगरपालिकाले महानगरभित्रका १०७ विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ । अनुमति लिएर व्यवहारतः सञ्चालनमा नरहेका विद्यालयहरूमाथि कडा निगरानी राख्दै महानगरले कागजी रूपमा दर्ता भए पनि भौतिक रूपमा अस्तित्व नभेटिएका महानगरभित्रका १०७ विद्यालयको अनुमति खारेज गर्न लागेकाे हाे ।
महानगरपालिकाले अनुमति लिएर कागजी रूपमा दर्ता भए पनि भौतिक रूपमा सञ्चालनमा नरहेका त्यस्ता विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अगाडि बढाएको हो । महानगरको शिक्षा विभागले एक सार्वजनिक सूचना जारी गर्दै त्यस्ता विद्यालयका सञ्चालकहरूलाई १५ दिनभित्र विभागमा सम्पर्क गर्न ‘अल्टिमेटम’ दिएको छ ।
महानगरले स्थलगत अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइएपछि उक्त कदम चालेको बताइएकाे छ । यसअघि गत साउन २८ गते बसेको नगर शिक्षा समितिको बैठकले अनुमति लिएर पनि बन्द अवस्थामा रहेका वा हराएका विद्यालयहरूको पहिचान गर्ने निर्णय गरेको थियो ।
समितिकाे उक्त निर्णयको कार्यान्वयन स्वरूप गरिएको छानबिनमा १०७ वटा विद्यालयको भौतिक उपस्थिति फेला नपरेपछि महानगर एक्सनमा उत्रिएको हो । महानगरले जारि गरेको सूचीमा परेका विद्यालयहरू यदि कतै सञ्चालनमा भए तिनका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई तोकिएको १५ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यदि महानगरले तोकेको समयभित्र सम्पर्कमा आई विद्यालय सञ्चालनमा रहेको आधिकारिक पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरूको अनुमति खारेजीका लागि कार्यपालिका समक्ष सिफारिस गर्ने समेत महानगरकाे सूचनामा उल्लेख गरिएकाे छ ।


