
आगमी जनावरी २०२६ मा काठमाडौँमा हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह विभाजनसँगै खेलतालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज खेलतालिका सार्वजनिक गरेको हो ।
क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार आयोजक नेपाल समूह ‘बी’मा परेको छ । नेपालसहित १० टोली सहभागी हुने प्रतियोगिता जनावरी १४ देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट रंगशालामा हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार जनावरी १४ र १६ मा वार्म अप तथा जनवरी १८ देखि मुख्य खेलहरू सुरु हुने बताइएकाे छ । उक्त खेलकाे समूह ‘ए’ मा बांङ्लादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् भने समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन् ।
नेपालले पहिलो खेलमा जनवरी १८ मा थाइल्यान्डसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्ने तालिका रहेकाे छ । यसअघि नेपालले पहिलो पटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको थियो ।
यस प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू सुपर सिक्समा छनोट हुनेछन् भने सुपर सिक्सबाट शीर्ष ४ टोलीहरू सन् २०२६ मा हुने महिला टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।


