
इटहरीर बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन(२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न भएको छ । शनिबार इटहरी स्थित मादेन इन मा प्रतियोगिताका ३९ जना प्रतिस्पर्धी बालबालिकाहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको हो । उक्त फोटोसुट निश्चल ग्यालरीले गरेको थियो भने सहभागीहरूको मेकअप ‘मार्टिना मेकअप स्टुडियो’ ले गरेको थियो ।
प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजक संस्था ओपन स्पेस प्रा।लि। का निर्देशक सरोज श्रेष्ठले यो मञ्च बालबालिकाको बौद्धिक क्षमता निखार्ने र उनीहरूलाई भविष्यमा कला तथा फेसनको क्षेत्रमा तयार पार्ने माध्यम भएको बताए । निर्देशक श्रेष्ठका अनुसार, गत वर्ष सम्पन्न पहिलो सिजनका प्रतिस्पर्धीहरूले नेपाली फिल्म क्षेत्रमा समेत अवसर पाएका छन् ।
पहिलो संस्करणका प्रतिस्पर्धी अवि भट्टराईले चर्चित अभिनेता सौगात मल्लको बाल्यकालको भूमिका फिल्म ‘बलिदान’ मा निर्वाह गर्ने मौका पाएको उदाहरण दिँदै उनले यो प्रतियोगिता अवसरको ढोका भएको बताए । हाल सहभागीहरूलाई कोरियोग्राफर सुभेक्षा कार्कीले र्याम्प वाकको विशेष प्रशिक्षण पनि दिइरहेकी छन् ।
यसका साथै बालबालिकाको आत्मविश्वास बढाउन व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर कला र योगा जस्ता विषयमा पनि तालिम दिइनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले माघको तेस्रो साता इटहरीमा हुने निर्देशक श्रेष्ठले जानकारी गराए । विजेताहरूले नगद पुरस्कारका साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरू प्राप्त गर्ने आयोजकको भनाई छ ।


