Advertisement Banner
Advertisement Banner

१५ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना, राजमार्ग अवरुद्ध

१५ मंगलबार , पौष २०८२३ घण्टा अगाडि

एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना, राजमार्ग अवरुद्ध

रौतहटमा एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान रौतहटकाे पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिकै ट्यांकर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको हाे ।

भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्यांकर आज बिहान दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएकाे र उनको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिएका छन् ।

उक्त दुर्घटना पछि पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सवारीसाधन धन्सार पुल नजिक रोकिएका छन् । ट्यांकर बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको र ग्यास लिक भइरहेकाले दुर्घटनाको जोखिम बढेको बताइएकाे छ ।

अहिले उक्त ग्यास ट्यांकर उठाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली आउँदै गरेको प्रहरीले जनाएकाे छ ।