
५ लाख २६ हजार ३५५ जनालाई अनलाइनबाट चारित्रिक प्रमाणपत्र
काठमाडौं, २१ पुस । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस २० गतेसम्म ५ लाख २६ हजार ३ सय ५५ जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । जसमा ४५८ आवेदनमा कसूर उल्लेख भई वितरण गरिएको छ । सो अवधिमा ६ लाख ५९ हजार ४५ वटा अनलाइन आवेदन प्राप्त भएका थिए । तीमध्ये १ लाख ३० हजार ४ सय २९ वटा आवेदन रद्द भएका थिए भने २ हजार २ सय ६१ आवेदन कार्यान्वयनको क्रममा छन् । हाल दैनिक ६ हजार देखि ५ हजार ५ सयसम्म अनलाइन आवेदन प्राप्त हुने र तीमध्ये सामान्यतया ४ हजार ५ सय प्रमाणपत्र दैनिक उपलब्ध गराइने गरिएको छ ।
वर्तमान समयमा अधिकांश विकसित मुलुकहरुले visa प्रदान गर्नुपूर्व निजहरुको आपराधिक पृष्ठभूमि बुझेर मात्र visaप्रदान गर्ने प्रावधान लागू गरेको साथै नेपालमा पनि सरकारी एवं निजि संघ सस्थाहरुले समेत रोजगारी लगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरूले प्रहरी चारित्रिक प्रमाणपत्र पाउँदैनन् । जसले गर्दा विभिन्न देशमा रोजगारी वा अन्य अवसरहरूबाट वञ्चित हुनुपर्दछ । कतिपय अन्तर्राष्ट्रिय विश्व विद्यालयहरूले भर्ना तथा छात्रवृत्ति समेत चारित्रिक प्रमाणपत्रको आधारमा प्रदान गर्ने गर्दछन् । त्यसैले सबै नागरिकहरूले कानुनको पालना गरी आफ्नो स्वच्छ छवि बनाई राख्नु जरूरी रहेको छ ।”
नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क उपलब्ध गराउँछ । अपराध सम्बन्धी राष्ट्रिय अभिलेख तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० बमोजिम प्रहरी चारित्रिक प्रमाणपत्र पाउने आवेदकलाई नियमानुसार उपलब्ध गराउने गरिएको छ । निर्देशिका अनुसार कुनै व्यक्ति उपर कुनै फौजदारी मुद्दामा अभियोग लागि अदालत वा अर्धन्यायिक निकायबाट सजाय तोकिएकोमा त्यस्ता सजाय भुक्तान नगरी कुनै पनि माध्यमबाट निजलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने छैन । प्रहरी चारित्रिक प्रामाणपत्रमा कुनै त्रुटि भएमा वा विवरण फरक परेमा सम्बन्धित व्यक्तिले त्यस्तो त्रुटि सच्याउन प्रहरी प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् । गम्भीर वा जघन्य कसुरमा सजाय पाएको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध, सम्पत्ति शुद्धिकरण, राहदानी दुरूपयोग लगायत अन्य फौजदारी कसुरमा सजाय पाएका व्यक्तिको हकमा त्यस्तो व्यक्तिले गरेको कसुर उल्लेख गरी प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध हुनेछ । साथै कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाई पाएको, नाबालक, अदालत वा कुनै अर्धन्यायिक निकायबाट सुरू कारवाही र किनारा हुने फौजदारी मुद्दामा एक वर्ष वा सो भन्दा कम सजाय भई सजाय भुक्तान भएको, कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाई पाएको व्यक्तिको विरूद्धमा पुनरावेदन परी पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको व्यक्तिको हकमा कसुर उल्लेख नगरी प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध हुनेछ ।
प्रहरी रिपोर्ट सम्बन्धी कामका लागि Criminal Record System (CRS) र Online Police Clearance Registration system (OPCR) सफ्टवेयरहरू प्रयोगमा छन् । CRS मा आपराधिक घटना र संलग्न व्यक्तिको अद्यावधिक अभिलेख राखिन्छ । जसबाट कुनै व्यक्ति अपराधमा संलग्न भए नभएको जाँच गरिन्छ । होल्डमा भएका आवेदनहरूको सम्बन्धमा एकिन बुझ्ने प्रयोजानार्थ मुद्दा चलाउने प्रहरी कार्यालयहरूलाई समय सीमा तोकी चालचलन शाखाबाट पत्राचार गर्ने गरिएकोमा मातहत कार्यालयहरूबाट पत्रको जवाफ आउन केही समय लाग्ने हुँदा सेवाग्राहीहरूलाई समयमै चारित्रिक प्रमाणपत्र उपलब्ध गराउन समेत समय लाग्ने गरेको छ । प्रहरी नायव महानिरीक्षक काफ्ले भन्नुहुन्छ, “विगतका अभिलेखहरू पूर्ण नभएका कारण नाम जुध्न जाने हुँदा केही आवेदनहरू होल्डमा रहन्छन् र भेरीफाई गर्दा थप समय लाग्नसक्छ । यसका लागि आधुनिक प्रविधिको प्रयोगलाई अझै सशक्त बनाउँदै सेवा प्रदान गर्न नेपाल प्रहरी प्रयासरत छ ।” गत भदौ २३ र २४ गतेको आन्दोलन पश्चात मातहत कार्यालयहरूको अभिलेखमा समस्या भएको हुँदा होल्ड भएका प्रश्नहरूको प्रष्ट जवाफ नआउने तथा आन्दोलन पश्चात हरेक क्षेत्रमा प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरिएकोले आवेदकको संख्यामा उल्लेख्य वृद्धि भएको हुँदा वर्तमान समयमा प्रहरी रिपोर्ट वितरणमा केही समय लाग्ने गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकउत्सवको अवसरमा गीति रचना प्रतियोगिता
काठमाडौं, २१ पुस । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ७० औं वार्षिकउत्सव २०८२ को अवसरमा “राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गान Anthem को लागि देशव्यापी गीति रचना प्रतियोगिता आयोजना गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सोमबार प्रतियोगिता सम्बन्धी सूचना प्रकाशित गर्दै ईच्छुक महानुभावहरूलाई सहभागिताको लागि आव्हान समेत गरेको छ । जसमा ईच्छुक महानुभावहरुले २०८२ माघ १५ गते कार्यालय समयभित्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको महाराजगंजस्थित कार्यालयमा उपस्थित भई आफ्नो रचना दर्ता गर्न सक्ने वा ईमेल ठेगाना npa_anthem@nepalpolice.gov.np मा पनि आफ्नो रचना पठाउन सक्नेछन् । निर्णायकबाट छनौट भएको उत्कृष्ट गीति रचनालाई ५१ हजार रूपैयाँ नगद र प्रशंसापत्र प्रदान गर्ने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । साथै उत्कृष्ट गीति रचनालाई संगीत दिई प्रहरी प्रशिक्षण प्रतिष्ठान गानको रूपमा प्रहरीले प्रयोग गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगिता सम्बन्धी शर्त तथा थप जानकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको वेबसाइटमा राखिएको छ ।


