
नेपाल प्रहरीकाे जनपद समूहतर्फका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयकाे बैठकको निर्णयानुसार बढुवा सिफारिस गरेकाे हाे ।
समितिको सचिवालयले बढुवा सिफारिस सूची सार्वजनिक गर्दै प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) बमोजिम योग्यताक्रमका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको जनाएको छ । नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत राम प्रकाश शाह प्राप्ताङ्क ८२.७९१७ सहित सूचीको पहिलो नम्बरमा रहेका छन् ।
बढुवा सिफारिस सूचीको दाेश्राै नम्बरमा विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा कार्यरत भुवनेश्वर तिवारी र तेस्रो नम्बरमा केन्द्रीय विशेष कार्यदलमा कार्यरत ऋषि राम कँडेल रहेका छन् । त्यस्तै सिफारिस सूचीको चौथो नम्बरमा सुरेश प्रसाद काफ्ले, पाँचौँमा श्याम सिं चौधरी र छैटौँ नम्बरमा नकुल पोखरेल, सातौँदेखि १० औँ नम्बरसम्म क्रमशः दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहराको नाम समावेश रहेकाे छ ।
मन्त्रालयको बढुवा समितिले सिफारिस गरेका अधिकारीहरू हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, प्रधान कार्यालयका विभिन्न शाखा तथा जिल्ला प्रहरी कार्यालयहरूमा कार्यरत रहेका छन् ।


