
राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा सुरु हुन लागेकाे हाे ।
नयाँ बानेश्वरस्थित संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले अहिले राष्ट्रिय सभाको १९औँ सिंहदरबारमा गर्ने तयारी गरिएको हाे । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका थिए ।
आजकाे बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै दिवंगत भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएकाे बताइएकाे छ ।
त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकाे संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिस अनुसार माघ ४ गतेका दिन ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए भने गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य गरिएको थियो ।
अहिले हुन लागेकाे अधिवेशनको सबै तयारी पूरा भइसकेकाे संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जनाएका छन् ।


