
नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेकाले देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागको मौसम बदली हुने भएकाे छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार अहिले कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तुवाँलो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने र विशेषगरी कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुनसक्ने र तराईका जिल्लाहरूमा आज पनि हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।
आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने र देशका उच्च पहाडी र हिमाली भेगमा आंशिक बदली रहे पनि अन्य स्थानको मौसम भने सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएकाे छ ।


