
आगामी फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभा निर्वाचनका लागि मनाङमा ७ हजार मतदाता रहेका छन् । जिल्ला भरिका ७ हजार मतदाताले २९ मतदान केन्द्र मार्फत मतदान गर्ने छन् ।
विसं २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ६ हजार ७ सय ७९ मतदाता रहेकाे मनाङमा अहिले हुन लागेकाे प्रतिनिधिसभा निर्वाचनका लागि ७ हजार मतदाता पुगेकाे प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले जनाएका छन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाकाे निर्वाचनमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ मतदाताले मतदान गर्ने छन् । त्यस्तै सुरक्षा र मतदातालाई सहज बनाउन कारागारमा एउटा मतदान केन्द्र थप भएको छ ।
नासोँ गाउँपालिकामा ९, चामेमा एक अस्थायीसमेत गरी ६, नार्पाभूमिमा ५ र मनाङ ङिस्याङमा ९ मतदान केन्द्र रहेका निर्वाचन अधिकारी कुँवरले बताए । त्यस्तै भौगोलिक दृष्टिले मनाङमा निर्वाचनकाे समयमा हिमपात हुनसक्ने भएकाले जोखिमपूर्ण रहेको समेत बताइएकाे छ ।
भौगोलिक रूपमा विकट, मौसमका हिसाबले संवेदनशील र पूर्वाधारको दृष्टिले चुनौतीपूर्ण मानिने मनाङमा निर्वाचन सम्पन्न गर्नु आफैँमा एउटा ठूलो व्यवस्थापकीय काम भएकाले त्यसैले निर्वाचन आयोग, जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै निर्वाचनको तयारीलाई प्राथमिकतामा राखिएको छ।


