
अहिले मुलुकभर पश्चिमी वायुको प्रभावका कारण माैसम बदलीसँगै वर्षा र हिमपात हुने भएकाे छ । भाेलि शुक्रबारदेखि देशकाे विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।
आज दिउँसाे कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागकाे मौसम सफा रहने र भोलिदेखि कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशकाे मौसममा प्रतिकूलता असर पर्नुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूका साथै गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
त्यसैगरि आज बिहानैदेखि रातिसम्म तराइका जिल्लाहरूमा हुस्सु र कुहिरोको लाग्ने छ । आज राति पनि तराईमा हुस्सु लाग्ने तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा बादल लाग्ने क्रम जारी रहने महाशाखाले उल्लेख गरेको छ ।
त्यस्तै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम हिमपात हुन सक्ने छ भने जसका कारण चिसो बढ्ने सम्भावना रहेकाे छ ।


