
म्यग्दीकाे बेनी नगरपालिका–७, का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयले समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता प्रदान गरेकाे हाे ।
नागरिकता पाउनका लागि समीरले ११ वर्ष र यास्मिनले ८ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्मका सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेकाे बताइएकाे छ । नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समीर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्राप्त गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जनाएका छन् ।
समीर र यास्मिनका आमा मनिरजा नेपाली हुन भने बुबा सलिम खान भारतको कलकत्ताका नागरिक हुन् । ३४ वर्षअघि सलिमसँग विवाह गरेकी मनिरजाले बेनीमा शृङ्गार व्यवसाय गर्दै आएकी छन् भने सलिमले भारतको नागरिकता त्यागिसकेका छन् ।
यता समीर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता रहेकाे छ । दुवैले उच्च शिक्षा हासिल गरिसकेका छन भने नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो । उनिहरूले नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
अहिले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो ।


