
आज विद्याकी देवि सरस्वतीकाे पूजा आराधना गर्दै श्रीपञ्चमी (वसन्त पञ्चमी) पर्व मनाइँदै छ । देशभर विद्या, बुद्धि, कला र संगीतकी अधिष्ठात्री देवी सरस्वतीको विशेष आराधना गर्दै श्रीपञ्चमी पर्व मनाउन लागिएकाे हाे ।
आज बिहानैदेखि देशभरका सरस्वती मन्दिरहरूमा विद्यार्थी, शिक्षक, साहित्यकार तथा कलाकर्मीहरूको बाक्लो उपस्थिति हुने गर्दछ भने आजदेखि ऋतुहरूको राजा मानिने ‘वसन्त ऋतु’ को आगमन हुने भएकाले आजकाे दिनलाइ ज्ञान र सिर्जनाको उत्सवका रूपमा लिने गरिन्छ ।
त्यसैगरेर आज ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, भक्तपुरको थिमीस्थित सरस्वतीखेल, काठमाडौंको विशालनगरस्थित नील सरस्वती, पशुपति आर्यघाटको सरस्वती मन्दिर, मैतिदेवी तथा स्वयम्भूस्थित सरस्वती स्थानमा पूजाअर्चना गर्नेहरूको घुइँचो लाग्ने गर्दछ । आजको दिनलाई ‘श्रीपञ्चमी’ वा ‘सरस्वती जयन्ती’ का रूपमा मनाउँदै बालबालिकाहरूलाई अक्षराम्भ गराउने प्रचलन समेत रहेकाे छ ।
आजको दिन बालबालिकाको नाक-कान छेड्ने गरिन्छ भने आजबाट सुरु गरिएको शिक्षा वा कुनै पनि कला साधना पूर्ण हुने जनविश्वास समेत रहेकाे पाइन्छ । त्यस्तै श्रीपञ्चमीको अवसरमा राज्यका तर्फबाट गरिने विशेष परम्परा ‘वसन्त श्रवण’ आज हनुमानढोका दरबारमा हुनेछ । उक्त विशेष समारोहमा राष्ट्रपतिले वसन्त श्रवण गर्नेछन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहने छ ।


