
छिमेकी देश भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालमा उच्च शतर्कता अपनाएको छ । नेपालमा पनि भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च शतर्कता अपनाएको हाे ।
केही साताअघि भारतको पश्चिम बंगालमा भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अहिले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताइएकाे छ ।
भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको हाे ।
मन्त्रालयले निपा संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान सबैमा अपिल समेत गरेको छ ।


