
मुलुकभर विकसित न्यून चापीय प्रणालीका कारण मौसममा आंशिक बदलीदेखि हल्का वर्षा र हिमपात हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विभिन्न स्थानमा बादल लाग्नुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएकाे हाे ।
न्यून चापीय प्रणालीका कारण आज कोशी, मधेस र बागमती प्रदेशलगायत पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । बाँकी क्षेत्रकाे मौसम सफा रहेपनि दिउँसो उच्च पहाडी र हिमाली भू-भागमा मौसम पूर्ण बदली हुने प्रक्षेपण गरिएको छ ।
त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेकाे छ । तराईका पूर्वी र मध्य भागमा बिहानीपख हुस्सु लागेको छ भने आज राति कोशी र गण्डकी प्रदेशका केही उच्च स्थानमा हल्का हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएकाे छ ।
शुक्रबार साँझदेखि सुदूरपश्चिम र कर्णालीका धेरै जिल्लाहरूमा वर्षा र हिमपात भएकाे छ भने जाजरकोट,बैतडी, डाेटी, कालिकाेट र दार्चुलामा मध्यम वर्षा हुनुका साथै बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ र सुर्खेत लगायतका जिल्लाहरूमा हल्का वर्षा र हिमपात हुँदा चिसाे बढेकाे बताइएकाे छ ।


