
राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि रिक्त हुन लागेकाे १७ पदका लागि आज मतदान हुँदैछ । राष्ट्रियसभाकाे रिक्त हुने १८ पद मध्य १७ पदका लागि सातै प्रदेशमा मतदान हुन लागेकाे हाे ।
आज सातै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएकाे छ । रिक्त हुने १८ पद मध्य कोशी प्रदेशमा खस आर्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ पदका लागि निर्वाचन हुन लागेकाे हाे ।
मतदानका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय तोकिएका स्थानहरूमा आवश्यक बन्दोबस्त मिलाइएको छ भने प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष मतदाता रहने यस निर्वाचनमा निष्पक्ष र शान्तिपूर्ण मतदानका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको निर्वाचन आयोगले जनाएकाे छ ।
मतदाताहरूको सहजताका लागि कोशीको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय, मधेसको जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र र बागमतीको हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालय, गण्डकी प्रदेशका लागि पोखरास्थित प्रदेश निर्वाचन कार्यालय, लुम्बिनीको दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णालीको सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिमको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुँदैछ ।


