
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यक्षेत्रमा अनुपस्थित रहेका १७ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन अन्तिम चेतावनी दिएको छ । लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका उनीहरूलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन कार्यालयले आज सार्वजनिक सूचना जारी गरेको हो ।
प्रहरी प्रधान कार्यालयकाे सूचना अनुसार गत कात्तिक र मंसिर महिनादेखि सम्पर्कविहीन १ जना प्रहरी सहायक निरीक्षक (असई), १ जना प्रहरी हवलदार, १ जना सहायक हवलदार सहित ११ जना प्रहरी जवान र ३ जना कार्यालय सहयोगी महिनौँदेखि कार्यालयको सम्पर्क बाहिर रहेको बताइएको छ ।
यसअघि उनीहरूको खोजतलास गरेर घर ठेगानामा सूचना टाँस गर्दा समेत कुनै जानकारी प्राप्त नभएपछि कार्यालयले सार्वजनिक सूचना जारि गरेकाे हो । ड्युटी छाडेर हिँडेका ती कर्मचारीहरूलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खुलाएर सन्तोषजनक जवाफसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
कार्यालयले तोकिएको समयावधिभित्र पनि चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर नभएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी दिएको छ ।


