
हेटौँडाकाे महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्रकाे गोदाममा गएराति विद्युत् सर्ट भई आगलागी भएको हाे ।
साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थ राख्न निर्माण गरिएको गोदाममा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ, प्याकिङ गर्ने समान जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ ।
अचानक आगो लागेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएर आगो निभाउने प्रयास गरिए पनि तत्काल आगो नियन्त्रणमा लिन नसक्दा गोदाममा रहेको कुनै पनि सामान जोगाउन नसकिएकाे बताइएकाे छ । आगलागीमा कतिको क्षति भयो भन्ने बारे एकिन गर्न नसकिए पनि करिब १०–१२ करोड मूल्यबराबरकै क्षति भएको हुनसक्ने अनुमान गरिएकाे छ ।
आगो लागेलगत्तै हेटौँडा उपमहानगरपालिकाबाट आएको दुईवटा बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली र स्थानीयहरूको प्रयासमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।


