
वैदेशिक रोजगारीका लागि साउदी अरब र नेपालबीच द्विपक्षीय श्रम सम्झौता भएको छ । साउदीको रियादमा आयोजित एक समारोहबीच साधारण श्रमिकको भर्ना तथा व्यवस्थापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
लामाे समयदेखि श्रम सम्झौताका लागि कूटनीतिक र प्राविधिक प्रयास भइरहेकाेमा बल्ल वैदेशिक रोजगारीको प्रमुख गन्तव्य साउदी अरब र नेपालबीच द्विपक्षीय श्रम सम्झौता भएको हाे ।सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन् ।
नेपालले वि.सं. २०७० सालदेखि नै साउदी अरबसँग श्रम सम्झौताका लागि पहल गर्दै आएकोमा अहिलेकाे सम्झौतासँगै साउदी अरबमा कार्यरत लाखौं नेपाली श्रमिकको रोजगारी थप सुरक्षित, व्यवस्थित र मर्यादित बन्ने बाटो खुलेक छ ।
यसअघि पटक-पटक मस्यौदा आदान-प्रदान भए पनि निष्कर्षमा पुग्न सकेको थिएन भने पछिल्लो समय गत भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले सम्झौताको बाटो खुला गरेको थियो । तर, भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का कारण सरकार परिवर्तन भएपछि हस्ताक्षर प्रक्रिया केही समय धकेलिएको भएपनि राजनीतिक स्थिरतासँगै नयाँ सिराबाट अघि बढेको यो प्रक्रियाले अन्ततः मूर्तरूप पाएको हाे ।


