
हरेक वर्ष झैं यसवर्ष पनि देशकाे लागि आफ्नाे ज्यानकाे आहुती दिने महान शहीदहरुकाे सम्झनामा शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन आज शहीद दिवस मनाउन लागिएकाे हाे ।
परिवर्तनका लागि निरङ्कुश राणा शासनविरुद्ध धावा बाेलेर आफ्नाे ज्यानकाे आहुती दिने शहीदहरु शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार शहीदहरुकाे सम्झनामा माघ १० देखि १६ गतेसम्म मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो ।
विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो । त्यस्तै राणाहरुले देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर वन्दी बनाएको थियो ।
निरङ्कुश राणा शासनकाे विराेधमा ज्यान गुमाएका महान शहीदहरुकाे सम्मानमा २०११ सालमा नेपालको पहिलो राजनीतिक दल प्रजापरिषद्ले शहीद सप्ताह मनाउन सुरु गरेकाे हाे । विसं २०१७ सालपछि दलमाथि प्रतिबन्ध लगाइएपछि शहीद सप्ताह ओझेलमा परेकाे थियाे भने २०४६ साल पछि भने ज्ञात अज्ञात शहीदहरुकाे सम्झनामा विशेष कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिएकाे छ ।


