
-रासस------------
काठमाडौँ,२२ माघःकाठमाडौँ, २२ माघः नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मीले कश्मीरसम्बन्धी दीर्घकालीन विवादको समाधान संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव ४७ को पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने बताउनुभएको छ ।
कश्मीर एकता दिवसका अवसरमा आज यहाँस्थित दूतावासमा आयोजित कार्यक्रममा राजदूत हाश्मीले उक्त प्रस्तावले समस्या समाधानका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गरेको उल्लेख गर्नुभयो । प्रस्तावमा भारत र पाकिस्तानबीच युद्धविराम, कश्मिरबाट सैन्य बल फिर्ता तथा जम्मु–कश्मीरका जनतालाई आफ्नो भविष्य स्वयं निर्धारण गर्न स्वतन्त्र तथा निष्पक्ष जनमतसङ्ग्रहको व्यवस्था गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घले सुनिश्चित गरेको कश्मीरी जनताको आत्मनिर्णयको अधिकारसम्बन्धी प्रस्ताव पारित भएको सात दशक बितिसक्दा पनि अझै पूरा हुन नसकेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । कश्मीरसम्बन्धी संयुक्त राष्ट्रका प्रस्तावहरूको कार्यान्वयन सुनिश्चित गर्न अन्तरराष्ट्रिय समुदायले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा राजदूत हाश्मीले जोड दिनुभयो ।
कश्मीर एकता दिवस कश्मीरी जनताप्रति ऐक्यबद्धता प्रकट गर्न तथा कश्मीर विवाद अझै समाधान हुन नसकेको अवस्थालाई उजागर गर्न प्रत्येक वर्ष मनाइने गरिन्छ ।


