
मुलुकभर पश्चिमी वायुको आंशिक प्रभावका कारण माैसममा फेरबदल भएकाे छ । अहिले देशका विभिन्न भागमा बदली, हुस्सु र कुहिरोको मिश्रित प्रभाव देखिएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज बिहानैदेखि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली भइरहेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा भएपनि तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको बताइएकाे छ । त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत देशका अन्य उच्च पहाडी र हिमाली क्षेत्रमा दिउँसोपख साधारणतया बादल लाग्ने अनुमान गरिएको महाशाखाले जनाएकाे छ ।
महाशााखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरेकाे छ भने हिमपातको कारण ती क्षेत्रमा चिसो बढ्न सक्ने बताएकाे छ । त्यसैगरि तराइमा बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
पहाडी र हिमाली क्षेत्रमा हुने बदली र सम्भावित हिमपातका कारण चिसोको प्रभाव कायमै रहने भएकाले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन र सतर्क रहन महाशाखाले सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।


