
निर्वाचन आयोगले आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गर्ने भएकाे हाे ।
आयोगले मतदान प्रक्रियालाई सहज र सजिलाे बनाउँदै बदर मतकाे प्रतिशत घटाउन आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका ७ सय ५३ वटै स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा नै एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्वयंसेवकले मतदाताको घर, बस्तीसम्म पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय गरिएकाे बताइएकाे छ । यसअघि पनि आयोगले सबै स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने लक्ष्यका साथ मतदाता शिक्षा कार्यक्रम अगाडि सारिएकाे बताउँदै आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि सम्पूर्ण सरोरकारवालालाई अनुरोध गरेकाे छ ।


