
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वकाे अवसरमा पशुपतिनाथ क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ । कोषले सम्पूर्ण व्यवस्थापनकाे कार्य उच्च प्राथमिकताका साथ गरेको आज एक पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे हाे ।
अहिले महाशिवरात्रि पर्व मनाउनका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढ्न थालेको र त्यसका लागि आवस्यक व्यवस्थापन मिलाइएकाे बताइएकाे छ ।
महाशिवरात्रि पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको छ । मन्त्रीको अध्यक्षतामा गठन गरिएको १७१ सदस्यीय मूल समारोह समितिले सक्रियरुपमा काम गरिरहेकाे छ ।
पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गर्दै व्यवस्थापन गरेकाे पशुपति क्षेत्रमा फूल र बत्तीले आकर्षक रूपमा सिँगार्न थालिएको छ । अहिले नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ ।
विश्व शान्ति शिवतत्वबाट नै हुने भएकाले विश्व शान्तिसँग जोडेर महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको पशुपतिनाथ क्षेत्रको सरसफाइमा विशेष ध्यान दिइएको र पर्यावरण जोगाएर नै पर्व मनाउने व्यवस्था मिलाइएको समितिले जनाएकाे छ ।


