
आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ६ सय ७१ उम्मेदवारले बैंक खाता खोलेका छन् । उनिहरुले निर्वाचन प्रचारप्रसारका लागि आवश्यक रकम खर्च गर्नको लागि बैंक खाता खोलेका हुन् ।
देशभर कुल ३ हजार ४ सय ६ जना उम्मेदवार रहेका मध्ये ६ सय ७१ जनाले बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएकाे छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म ६ सय ७१ जना उम्मेद्वारले खाता खाेलेका छन् जुन कुल उम्मेदवारकाे करिव २० प्रतिशत हो ।
यता आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगको अनुरोधमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उम्मेद्वारहरुको बैक खाता खोल्नको लागि सहजीकरण गर्न परिपत्र समेत जारी गरेको छ भने देशभर राजनीतिक दल र उम्मेदवारहरूले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएको बताइएकाे छ ।
उम्मेदवारहरूलाई खाता खोल्ने क्रममा देखिएका समस्याका बारेमा बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने आयोगका प्रवक्ता भट्टराईले बताएका छन् । उनकाअनुसार खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया र बैंकहरूले निर्वाह गर्नुपर्ने सहजीकरणबारे स्पष्टता दिन आयोगले छलफल कार्यक्रम आयोजना गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन लागू गरिएको बैंक खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।


