Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

वीरगञ्जमा अनिश्चित कालिन कर्फ्यू आदेश जारी

११ सोमबार , फाल्गुण २०८२१५ घण्टा अगाडि

वीरगञ्जमा अनिश्चित कालिन कर्फ्यू आदेश जारी

वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साले महानगरको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेकाे हाे ।

उक्त क्षेत्रमा पछिल्लो शान्ति सुरक्षालाई मध्यनजर गर्दै बिहान पाैने १९ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरिएको हाे । हिजाे वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयलाई लिएर  सामान्य विवादबाट सुरु भएको घटनाले दुई समुदायबीच तनाव बढाएपछि जिल्ला सुरक्षा समितिले कर्फ्यू आदेश जारी गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश गरिएको बताए । जसअनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सियानदी, उत्तरमा गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेट सीमना तोकेर कसैले आवतजावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको छ ।

कर्फ्यू आदेश अवधिभर अत्यावश्यक सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी एवं परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटकका सवारीसाधन, कूटनीतिक नियोग र मानवअधिकारकर्मी र हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने बताइएको छ ।