
सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा कार्यरत कामदारबीच झडप हुँदा ७ जना घाइते भएका छन् । कम्पनीमा कार्यरत कामदारबीच आपसी विवादका कारण झडप हुँदा ७ जना कामदार घाइते भएका हुन् ।
निर्माणाधीन हिमालयन फुड कम्पनी (राँगाको मासु प्रशोधन उद्योग) मा कार्यरत कामदारबीच आपसी विवाद झडप हुँदा २ नेपाली र ५ चिनियाँ नागरिक कामदार घाइते भएकाे सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जनाएका छन् ।
मरिण गाउँपालिका–६, धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालिएको विषयलाई लिएर सुरु भएको विवादले झडपको रूप लिँदा दुवै पक्षका कामदार घाइते भएका हुन् । उक्त घटनामा नेपाली कामदार नवराज बम्जन गम्भीर घाइते भएकाले थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको छ भने अर्का नेपाली कामदार उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोकर्ण कटुवालको टाउकोमा चोट लागेर घाइते भएकाे प्रहरीले बताएकाे छ ।
त्यस्तै उक्त घटनाकम चिनियाँ नागरिकहरूमध्ये ३८ वर्षीय मिस्टर याङको कान र टाउकोमा चोट लागेको छ भने ४५ वर्षीय याङ हाइबोको बायाँ हातमा चोट लागेको छ । त्यसैगरी ४० वर्षीय छ्याङ छोङको छातीमा चोट लागेको छ भने ४६ वर्षीय चुजेनको टाउको र मुखमा चोट लागे लाग्नुका साथै ३१ वर्षीय लेउसेन्सीको टाउकोमा चोट लागेको र सबैकाे अवस्था मध्यम रहेको प्रशरीले जनाएको छ ।
अहिले घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको छ । उक्त घटनापछि कम्पनी परिसरमा केही समय तनावपूर्ण सिर्जना भएकाेमा अहिले स्थिति नियन्त्रणमा आइसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


