Advertisement Banner
Advertisement Banner

११ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

आफ्नो परिचय खुल्ने कागजपत्र बाेकेर मतदान गर्न जान आग्रह

१४ बिहिबार , फाल्गुण २०८२४ महिना अगाडि

आफ्नो परिचय खुल्ने कागजपत्र बाेकेर मतदान गर्न जान आग्रह

निर्वाचन आयोगले यही फागुन २१ गते हुने पतिनिधीसभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि आफ्नो परिचय खुल्ने कागजपत्र बाेकेर जान आग्रह गरेकाे छ । आयोगले मतदान केन्द्रमा जाँदा आफ्नो मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्र लिएर जान आग्रह गरेकाे हाे ।

आयोगले विज्ञप्ति जारी गर्दै यही फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिन र जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरेका कार्य गर्नेलाई कारबाही गरिएकोबारे जानकारी दिन अनुरोध गरिएको छ ।

यता आयोगले मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन पनि आग्रह गरेको छ । त्यस्तै मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधनहरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू २०८२ साल फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाएकाे छ ।

त्यसैगरी मतदानको दिनमा हवाई उडानहरू यथावत् सञ्चालनको व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर/बसोबास गर्ने होटलसम्म र घर/बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले स्पष्ट पारेको छ ।

आयोगले जारी गरेको सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण इकाइ खडा गर्ने र सो एकाइमा निर्वाचन आयोगको तर्फबाट दुई र जिल्ला प्रशासन कार्यालय, कांठमाडौंका तर्फबाट दुई जना कर्मचारीलाई तोक्ने निर्णय गरेकाे छ ।