
गण्डकी प्रदेशका पूर्वसांसद तथा मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे कारागारबाट छुटेका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेल चलान भएका उनी कैद भुक्तान गरेर आज रिहा भएका हुन् ।
डिल्लीबजार कारागारका प्रशासक बाबुराम आचार्यले कैद सजाय पूरा भएकोले उनी छुटेको जानकारी दिए । ‘उहाँको कैद सजाय पूरा भएकोले छुट्नुभएको छ,’ उनले भने ।
गुण्डा नाइकेका रुपमासमेत परिचित मनाङे समूहले २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जमा अर्का डन चक्रे मिलन उर्फ मिलन गुरुङमाथि खुकुरी प्रहार गरेको थियो ।
उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएकोमा उच्च अदालत पाटनले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेका मनाङेलाई दुई वर्ष आठ महिना कैद भुक्तानी गरिसकेपछि जेलबाहिरै बसेर मुद्दा लड्ने सुविधा दिइयो ।
तर, सर्वोच्चले ०८१ कात्तिक २० गते उच्चको फैसला सदर गरेपछि कात्तिक २७ गते समातिएका उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । कैद भुक्तानमा २० प्रतिशत छुट पाएका मनाङे एक वर्ष चार महिना जेल बसेर छुटेका हुन् ।


