Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

चुनाव अवधिभर एक हजार सूचना कारबाहीका निम्ति पठाइयो

२७ बुधबार , फाल्गुण २०८२९ घण्टा अगाडि

चुनाव अवधिभर एक हजार सूचना कारबाहीका निम्ति पठाइयो

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आँच पुग्नेगरी फैलाइएका करिब एक हजार सूचनालाई कारबाहीका निम्ति पठाइएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन अवधिभर नौ सय ९८ वटा हानिकारक सूचना पहिचान गरी सम्बन्धित नियामक निकायमा पठाइएको हो ।

आयोगले निवाचनको व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न इकाई तथा समन्वय केन्द्र स्थापना गरेको थियो । निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र, कल सेन्टर र संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको थियो ।

जसमध्ये निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्दअन्तर्गत सूचना सदाचार प्रवद्र्धन इकाईले चुनावसम्बन्धी हानिकारक ती सूचना पहिचान गरेर कारबाहीका लागि पठाएको हो । केन्द्रमातहतकै विद्युतीय मतदाता शिक्षा इकाईले निर्वाचन प्रकिया, मतदाता शिक्षा तथा निर्वाचन सचेतनासम्बन्धी सात सय चार वटा भिडिओ र पोस्टर बनाई आयोगको प्लेटफर्मबाट प्रकाशन तथा प्रशारण गरेको जनाइएको छ ।

यस्तै, कल सेन्टरले मतदाता नामावली, शिक्षा, आचारसंहिता तथा निर्वाचन प्रक्रियालगायत आम मतदाताका आठ हजार दुई सय २० जिज्ञासा सम्बोधन गरेको आयोगको भनाइ छ । संयुक्त निर्वाचन सञ्चालन केन्द्रले मतपत्र र निर्वाचन सामग्री दुवानीमा सुरक्षा समन्वय तथा ट्रयाकिङ गर्ने, हवाई ढुवानी कार्ययोजना बनाई कार्यान्वयन, निर्वाचन सुरक्षासम्बन्धी सूचना संकलन, विश्लेषण, समन्वयजस्ता कार्य गरेको आयोगले जनाएको छ ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएसँगै आयोगले यी सम्पूर्ण इकाई बन्द गरेको छ । ‘मतदान तथा मतगणनाको कार्य सम्पन्न भइसकेको सन्दर्भमा ती इकाइ तथा समन्वय केन्द्रहरु आयोगको मिति २०८२–११–२६ को निर्णयअनुसार मिति २०८२–११–२७ देखि लागू हुनेगरी बन्द गरिएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।