
काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका स्थानीय बासिन्दाले अवराेध गरेपछि काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको हाे ।
बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएपछि फोहर विसर्जन रोकिएको हाे । विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने स्थानियले अडान लिएका छन् ।
फोहर फाल्न नदिने अडान लिएपछि काठमाडौँबाट फोहर बोकेर गएका गाडीलाई फिर्ता पठाइएको छ । स्थानियले पटक–पटक भएकाे उधारो सहमतिले पीडित भएकाे बताउँदै माग पूरा नहुञ्जेल अवरोध जारी रहने बताएका छन् । यसअघि गत कात्तिक १६ गते तत्कालिन सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो ।
नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् ।


