Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

ग्यासको अवैध कारोबार भए ११३७ मा सूचना दिन आग्रह

०३ मंगलबार , चैत्र २०८२६ महिना अगाडि

ग्यासको अवैध कारोबार भए ११३७ मा सूचना दिन आग्रह

अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण देखाएर खाना पकाउने ग्यासको अवैध कारोबार भइरहेको गुनासो बढेसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध कारोबार भएकाे थाहा पाएमा ११३७ मा सूचना दिन आग्रह गरेकाे छ । विभागले कुनै सूचना वा जानकारी भए तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन आग्रह गरेको हो ।  

पछिल्ला समय खाना पकाउने ग्यासकाे कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको भन्ने उपाभाेक्ताकाे गुनासाेसँगै विभागले आमउपभोक्तालाई निःशुल्क टेलिफोन नम्बरकाे व्यवस्था गरि त्यस्ता गतिविधी भए जानकारी दिन अनुराेध गरेकाे हाे । यता आयल निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्नेगरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायमै रहेकाे छ ।

पछिल्ला दिनमा विभागले देशभर स्थलगत अनुमगन तथा निरीक्षण गर्दै आएको छ भने हिजाे मात्र ललितपुर हरिसिद्धिमा रहेकाे श्रीराम ग्यास उद्योगको डिपोमा छापा हानेर ६ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर बरामद गरेसँगै उद्योगलाई ३ लाख जरिवाना गरेको थियाे ।

विभागले सबै ग्यास उत्पादक उद्योग र वितरक सबैमा कानुनअनुसार व्यापार व्यवसाय गर्न तथा कुनै पनि गैरकानुनी क्रियाकलाप नगर्न सचेत गराउँदै अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।