
विभिन्न कारण अलपत्र परेका २० नेपालीको कम्बोडियाबाट उद्धार गरिएकाे छ । कम्बोडियाबाट उद्धार गरी उनीहरूलाई स्वदेश फर्काइएको हाे ।
विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेर अलपत्र परेका २० जनालाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेर स्वदेश फर्काइएको हाे । उद्धार गरिएकाहरू अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरू रहेकाे दूतावासले जनाएकाे छ ।
दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरिएको र उद्धार गरिएकाहरूलाई गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा काठमाडौं पठाइएको छ । उनीहरू त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् ।
दूतावासले अलपत्र परेका अन्य व्यक्तिहरू पनि रहेको सूचना प्राप्त भएको बताउँदै उनीहरूलाई पनि फर्काउन पहल भइरहेको जनाएकाे छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांक अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६ हजार ४०४ जना तथा सन् २०२५ मा ९ हजार ६७ जना नेपालीहरू कम्बोडिया पुगेकाे बताइएकाे छ ।
दूतावासले कुनै प्रलोभनमा नपरी नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस्, म्यानमार थाइल्यान्डलगायतका मुलुकहरूमा जान सचेत गराएको छ ।


